Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


सौर्य विद्युत उत्पादक संघको वार्षिकोत्सव सम्पन्न, संघका गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य


650
Shares

काठमाडौं । नेपाल सौर्य विद्युत उत्पादक संघको २६औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

काठमाडौंमा बुधबार एक कार्यक्रमकाबीच वार्षिकोत्सव सम्पन्न गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले संघको सफलताको शुभकामना दिँदै सौर्य विद्युत क्षेत्रको विकासमा संघले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयाे। उहाँले संघका गतिविधिलाई थप प्रभावकारी बनाउन सरकारी निकायबाट गर्नुपर्ने पहलका लागि आफूले आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।

साेही अवसरमा संघमा आबद्ध सदस्यहरूलाई नयाँ खरिद ऐनका विषयमा प्रशिक्षण समेत दिइएको थियो। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दीपक गौतमले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । संघका अध्यक्ष भरतकुमार मल्लले संस्थाका गतिविधि, आगामी योजना तथा कार्यक्रमकाे बारेमा जानकारी गराउनुभएकाे छ।

कार्यक्रममा सहभागीहरूले नेपालमा सौर्य तथा नवीकरणीय ऊर्जा क्षेत्रको सम्भावना उच्च रहेको र यसको विकासका लागि निजी क्षेत्र र सरकारी निकायबीच थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। संघले वार्षिकोत्सवलाई संस्थाको विगतको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा सौर्य विद्युत उत्पादन तथा नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा थप प्रभावकारी भूमिका खेल्ने अवसरका रूपमा लिएको जनाएको छ।