काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताउनुभएको छ ।
सिंहदरबारमा बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको हालैको छलफललाई उद्धृत गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री वाग्लेले सरकारको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड दिनुभएकाे छ। विगत एक दशकको आर्थिक समीक्षा गर्दै उहाँले नीतिगत निर्णयहरू भएपनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम आउन नसक्नुका कारण खोज्नुपर्ने बताउनुभयो । चालु आर्थिक वर्षको बजेट सामान्य वार्षिक कार्यक्रम मात्र नभई आर्थिक सुधार र संरचनागत रुपान्तरणको मार्गचित्र भएको दावी गर्नुभएकाे छ । उहाँले यस यात्रामा नेपाल राष्ट्र बैंकले आफ्नो भुमिकालाई पुनः परिभाषित गर्नुपर्ने बताउनुभयो ।
अर्थमन्त्री वाग्लेले छलफलका क्रममा राष्ट्र बैंकसँग विभिन्न नीतिगत पहलका लागि सुझाव समेत माग्नुभएको छ । उहाँले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह वृद्धि, बैंकिङ प्रणालीको अधिक तरलतालाई रोजगारी र उद्योगमा रुपान्तरण, तथा पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको स्वस्थ सम्बन्ध निर्माणका विषयमा चासो व्यक्त गर्नुभयो। साथै, डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणहरूलाई सहज बनाउनुपर्नेमा उहाँको जोड छ ।
अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा मात्र नभई आर्थिक रुपान्तरणको ‘सहयात्री र सह–निर्माता’ का रूपमा हेर्न चाहेको बताउनुभयो । सरकारका तर्फबाट कानूनी संशोधन र संस्थागत सुधारका प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उहाँले मौद्रिक पक्षबाट पनि सोही अनुरूपको गति र स्पष्टता आवश्यक रहेको उल्लेख गर्नुभएकाे छ । छलफलमा उठेका विषयहरूलाई कार्ययोजनामा रुपान्तरण गरिने र आवश्यक परे नीतिगत समन्वयका लागि संयुक्त कार्यदल गठन गरिने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्