काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिका गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ ।
नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउने उदेश्यसहित विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हो । हेलो सरकारका प्रगति अनुगमन गर्ने तथा सेवाग्राहीलाई जानकारी दिने प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । योजनामा सेवाग्राहीले यसअघि गरेका गुनासोको विवरण र त्यसको अवस्था लगायत अभिलेख पनि प्रणालीमा देखिने व्यवस्था प्रस्ताव गरिएको छ ।
एउटै व्यक्तिले एउटै विषयमा पटक-पटक गुनासो दर्ता गरेमा त्यसलाई एउटै गुनासोका रूपमा व्यवस्थापन गर्ने व्यवस्था पनि गरिने भएको हाे । कार्षलयका अनुसार हालै तयार पारिएको नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन दिग्दर्शन’ सङ्घ, प्रदेश, स्थानीय तहसम्म गुनासो व्यवस्थापन प्रणालीलाई एकीकृत गर्ने व्यवस्था प्रस्ताव गरेको छ । साथै गुनासो सुनुवाइका लागि समयसीमा निर्धारण गर्दै अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी ३ दिनभित्र, जरुरी ७ दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हाे ।
हेलो सरकारका अनुसार यी सुधार विषय कार्यान्वयनमा आएपछि हेलो सरकारलाई नागरिक गुनासोमात्र दर्ता केन्द्रमा सीमित राखिने छैन । नागरिकका गुनासो व्यवस्थापनका सवै चरणमा प्रभावकारी रूपमा कार्य गर्ने, राष्ट्रिय समस्याको विद्यमान स्थितिको यथार्थ अवस्था झल्काउने, सरकारलाई नीति निर्माणको आधार तथा पृष्ठपोषण दिने एवम् सुशासन र शासकीय सुधारको दिशानिर्देशको गर्ने माध्यमका रूपमा हेलो सरकार बन्नेछ । कार्यालयका अनुसार हेलो सरकारमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष ३ सय २१ प्रतिशतले गुनासो बढेका छन् ।
पछिल्ला करिब ३ महिनामा ५० हजार भन्दा बढी गुनासा दर्ता भएको प्रधानमन्त्री कार्यालयले जनाएको हाे । साेही अवधिमा प्राप्त भएका गुनासो मध्ये ३९ हजार १ सय ७७ गुनासाको समाधान गरिएको दावी गरिएकाे छ।









प्रतिक्रिया दिनुहोस्