Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


डढेलो निभाउने क्रममा दुई हेलिकप्टर ठोक्किँदा पाइलटसहित दुई जनाको मृत्यु


676
Shares

एजेन्सी ।
ग्रीसमा जंगलमा लागेको डढेलो निभाउने क्रममा आइतबार दुई हेलिकप्टर आकाशमै ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा एक डेनिस पाइलट र ग्रीक अग्नि सेवाका एक सम्पर्क अधिकारीको मृत्यु भएको छ। अर्का एक ब्रिटिश पाइलट र ग्रीक संयोजक भने सामान्य घाइते भएका छन्।

राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा रहेको एटिका–बोओटिया सीमावर्ती जंगलमा लागेको भीषण डढेलो नियन्त्रण गर्ने क्रममा दुवै हेलिकप्टर व्यस्त रहेका बेला दुर्घटना भएको हो।

सार्वजनिक भएको भिडियोमा एउटा हेलिकप्टर अर्को हेलिकप्टरसँग ठोक्किएको देखिन्छ। ठक्करपछि एउटा हेलिकप्टरमा आगो लागेर नजिकैको खाडलमा खसेको थियो भने अर्को हेलिकप्टरले आपतकालीन अवतरण गर्न सफल भएको थियो।

ग्रीक अग्निशमन सेवाका अनुसार दुर्घटनापछि एउटा हेलिकप्टरका चालक दलका सदस्यहरूलाई सकुशल उद्धार गरिएको थियो। दोस्रो हेलिकप्टरमा रहेका दुई चालक दलका सदस्यलाई अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

यसैबीच, ग्रीसभरि फैलिएको भीषण डढेलो नियन्त्रणका लागि पाँच सयभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ। पोर्टो जर्मानो, पसाथा, फोकिडा, मेगारा र केफालोनिया लगायतका क्षेत्रमा पछिल्ला ७२ घण्टादेखि आगो नियन्त्रणको प्रयास जारी छ। डढेलोका कारण प्रभावित क्षेत्रबाट ठूलो संख्यामा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।