Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


साेमबार शेयर बजारमा उत्साहजनक वृद्धि


143
Shares

काठमाडौं ।
साताको पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले बढेको छ । विहान बजार खुलेको केही मिनेट घटेपछि बढ्न शुरु गरेको बजार परिसूचक नेप्से ४१.७० अंक बढेर २७१९.२४ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये म्युचअल फण्ड उपसमूह बाहेक आज १२ वटा उपसमूहको परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशतले बढ्दा जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेका छन् ।

यस्तै विकास बैंक, होटल तथा पर्यटन, लगानी र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । २३९ वटा स्टकको मूल्य बढेको बजारमा ३२ वटाको मात्रै शेयर मूल्य घटेको छ । केही दिन अघि आइपीओ सूचिकृत भएको एभरेष्ट कलर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै रिज लाइन इनर्जीको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ भने श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ । तर आत्मनिर्भर लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ६.८६ प्रतिशतले घटेको छ ।

आज दिनभरमा ३४३ वटा स्टकको एक करोड २२ लाख ४५ हजार कित्ता शेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँबराबरको खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक २९ करोड १५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको करिब साढे २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।