Logo ३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026


प्रदेशमा ३ दलीय सरकार बनाउने प्रश्तावप्रति कांग्रेस सभापति थापाको विमति


13
Shares

माठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रश्तावप्रति विमति प्रकट गर्नुभएको छ ।

ललितपुरमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो प्रश्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताउनुभएको हो । सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गर्नुभयो । तीन दलीय सरकार बनाउनु जनताले दिएको म्याण्डेट भन्दा फरक कुरा भएकाले कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभएकाे छ। कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

सत्तालाई नै सबैथोक मान्ने सोचका कारण वि।सं। २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको सभापति थापाको तर्क छ । राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै उहाँले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले गर्दा राजनीतिको साख गिरेको बताउनुभयो । सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा काँग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको बताउनुभएकाे छ।

सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको बताउनुभयो । कांग्रेस अब सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा मात्र नलागी आफ्ना आधारभूत सिद्धान्त र नागरिकको म्यान्डेटप्रति इमानदार रहनुपर्नेमा उहाँकाे जोड छ।