Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्छ: एमाले सांसद नेम्वाङ

'सुकुम्बासी नागरिकलाई उचित वैकल्पिक व्यवस्थापन नगरि होल्डिङ सेन्टरबाट हटाउन मिल्दैन'

13
Shares

काठमाडाैं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्ने बताउनुभएको छ ।

सिंहदरबारमा साेमबार प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चिकित्सकहरु लामो समयदेखि उचित पारिश्रमिक, सम्मानजनक श्रम र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको उल्लेख गर्दै उनीहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाल मेडिकल काउन्सिलको तथ्यांक उद्धृत गर्दै नेपालमा वार्षिक रूपमा दर्ता हुने चिकित्सकको संख्या भन्दा बढी चिकित्सकले विदेश जान आवश्यक कागजात बनाउने गरेको पाइएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभएकाे छ।

सांसद नेम्वाङले न्युन पारिश्रमिक, लामो तथा अमानवीय कार्यघण्टा, बिदाको अभाव, रोजगारीको अनिश्चितता र श्रम शोषणका कारण चिकित्सक बाहिरिने क्रम बढ्दै गएको भन्दै त्यसतर्फ समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । एकातिर सरकारी अस्पतालमा बिरामीले सेवा लिन लामो समय कुर्नुपर्ने र अर्कोतर्फ विशेषज्ञ चिकित्सकले रोजगारी नपाउने अवस्था रहेको बताउनुभएकाे छ। उहाँले सरकारले जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

सांसद नेम्वाङले सुकुम्बासी नागरिकलाई उचित वैकल्पिक व्यवस्थापन नगरि होल्डिङ सेन्टरबाट हटाउन नमिल्ने धारणा समेत राख्नुभएकाे छ।