काठमाडौं । लुम्बिनी प्रदेशमा धान रोपाइँ ५९ दशमलव ९४ प्रतिशत सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले प्रदेशभर ३ लाख १३ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा यहि असार २६ गतेसम्म १ लाख ८० हजार ६ सय ३० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको जनाएकाे हो । अझै १ लाख ३२ हजार ४ सय ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्न बाँकी रहेको निर्देशनालयले बताएकाे छ ।
निर्देशनालयले प्रदेशका १२ जिल्लामध्ये रोल्पामा धान खेती हुने शतप्रतिशत जमिनमा रोपाइँ सकिएको जनाएकाे हाे । त्यसैगरी प्युठानमा धान रोपाइँ हुने खेतमध्ये ९२ प्रतिशत, नवलपरासी (पश्चिम) मा ९० प्रतिशत, रुकुम पूर्वमा ८० प्रतिशत, रुपन्देहीमा ७२ प्रतिशत, पाल्पामा ७१ प्रतिशत, बर्दियामा ७० प्रतिशत, दाङमा ६५ प्रतिशत, गुल्मीमा ५२ प्रतिशत र अर्घाखाँचीमा ५१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
यता, कपिलवस्तु र बाँकेमा भने धान रोपाइँको प्रगति सुस्त देखिएको हाे । निर्देशनालयले पिलवस्तुमा हालसम्म जम्मा ३१ प्रतिशतमात्र धान रोपाइँ भएको बताएकाे हाे । जिल्लामा ६६ हजार २ सय ६५ हेक्टर क्षेत्रफलमा धान रोप्नुपर्ने भए पनि असार २६ गतेसम्म २० हजार ५ सय ४२ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ।
त्यसैगरी बाँकेमा ३३ हजार ७ सय ८० हेक्टर क्षेत्रफलमा धान रोप्नुपर्ने लक्ष्य रहेकामा हालसम्म १४ हजार ८ सय ६३ हेक्टरमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्