Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


ओमानमा जहाजमाथि इरानी आक्रमण : एक भारतीय बेपत्ता, १० जनाको उद्धार


572
Shares

काठमाडौं । ओमानको तट नजिक व्यावसायिक मालवाहक जहाजमाथि भएको इरानी आक्रमणपछि जहाजमा रहेका ११ भारतीय चालकदलमध्ये १० जनाको सकुशल उद्धार गरिएको छ भने एक भारतीय नागरिक अझै बेपत्ता रहेका छन्।

भारतीय विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार साइप्रसको झण्डा बोकेको जीएफएस ग्यालेक्सी नामक व्यावसायिक जहाज ओमानको तट नजिक आक्रमणमा परेको थियो। आक्रमणपछि जहाजमा आगलागी भएको र चालकदलले जहाज छाड्न बाध्य भएको बताइएको छ।

भारतले उक्त आक्रमणको कडा शब्दमा निन्दा गर्दै मध्यपूर्व क्षेत्रमा व्यावसायिक जहाजमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले ओमानस्थित भारतीय दूतावासले स्थानीय निकायसँग समन्वय गर्दै बेपत्ता भारतीय नागरिकको खोजी तथा उद्धार अभियानमा सक्रिय रूपमा काम गरिरहेको जनाएको छ।

घटना अमेरिका–इरानबीच बढ्दो सैन्य तनावका बीच भएको हो। पछिल्ला घटनाक्रमसँगै होर्मुज जलडमरूमध्य आसपासको समुद्री सुरक्षा थप जटिल बन्दै गएको छ, जसले अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवागमनमा समेत चिन्ता बढाएको छ।

भारतीय सरकारले सबै भारतीय नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको जनाउँदै बेपत्ता चालकदल सदस्यको अवस्थाबारे थप जानकारी उपलब्ध हुनेबित्तिकै सार्वजनिक गरिने जनाएको छ ।