Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


ब्राजिलका चर्चित खेलाडी नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

याेसँगै ब्राजिलियन फुटबलको एक गौरवपूर्ण युगको औपचारिक रूपमा अन्त्य

0
Shares

काठमाडाैं । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

सन् २०२६ को फिफा विश्वकप फुटबलको अन्तिम १६ चरणमा नर्वेसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्राको अन्त्य भएको बताएका हुन् । अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ स्टेडियममा साेमबार सम्पन्न भएकाे खेल सकिए लगत्तै भावुक बनेका नेयमार मैदानमै आँसु झार्दै ढलेका थिए । टोलीका खेलाडी र प्रशिक्षकहरूले उनलाई सम्हालेका थिए ।

त्यसपछि साेमबारै ब्राजिली टेलिभिजन ग्लोबोसँग कुरा गर्दै उनले भनेका छन्-  “मैले सक्दो प्रयास गरें । अब मेरो यात्रा समाप्त भयो । यहीँबाट मैले ब्राजिलका लागि यात्रा शुरु गरेको थिएँ र आज यहीँ आएर त्यसको अन्त्य भयो ।’

नेइमारले सन् २०१० मा अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । त्यसयता उनले राष्ट्रिय टोलीका लागि १ सय ३० खेल खेल्दै ८० गोल गरेका हुन् । याेसँगै नेयमार महान् खेलाडी पेलेलाई पछि पार्दै ब्राजिलका सर्वाधिक गोलकर्ता बनेका छन् ।

सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने ब्राजिली खेलाडीको सूचीमा नेइमार दोस्रो स्थानमा रहेका छन् । यद्यपि विश्वकप उपाधि जित्ने उनको सबै भन्दा ठूलो सपना भने अधुरै रह्यो । नेयमारको सन्यास घोषणासँगै ब्राजिलियन फुटबलको एक गौरवपूर्ण युगको औपचारिक अन्त्य भएको छ ।

नेयमारको गति, कौशल, सिर्जनात्मक खेलशैली र गोल गर्ने अद्भूत क्षमताले विश्व फुटबलमा छुट्टै पहिचान बनाएको थियो । राष्ट्रिय टोलीबाट उनले बिदाइ लिए पनि ब्राजिलियन फुटबलमा नेयमारको योगदान र विरासत सधैं स्मरणीय रहने भएकाे छ ।