Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


विचार र दर्शन सामाजिक सञ्जालका पोष्टमा सिमित हुन पुगेको छ : प्रदीप ज्ञवाली


26
Shares

काठमाडाैं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा विचार र दर्शनहरु संकुचित हुँदै फेसबुक र एक्समा सिमित हुन पुगेको बताउनुभएको छ ।

बुधवार आयोजित दर्शनशास्त्रको ईतिहास पुस्तककाृ परिचर्चा कार्यक्रममा उहाँले नेपालमा दर्शनप्रतिको रुचि र बौद्धिक बहस संकटमा परेको बताउनुभएको हो । उहाँले भारतका प्रसिद्ध दार्शनिक तथा लेखक देवीप्रसाद चट्टोपाध्यायको भनाइ स्मरण गर्दै विचार र दर्शनप्रतिको चासो घट्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

चट्टोपाध्यायले ‘भारतलाई दर्शनको सबैभन्दा बढी आवश्यकता भएको बेला नै दर्शनप्रतिको रुचि र बौद्धिक बहसमा खडेरी देखिएको’ उल्लेख गरेको सन्दर्भ प्रस्तुत गर्दै ज्ञवालीले नेपालमा पनि यस्तै अवस्था देखिन थालेको बताउनु भयो । नेपालमा दर्शन, वैचारिक बहस तथा सैद्धान्तिक–नीतिगत प्रश्नहरू क्रमशः साँघुरिँदै गएको उहाँको भनाई छ ।

सामाजिक सञ्जालका छोटा पोस्ट, ट्विट र सीमित शब्दका अभिव्यक्तिमा विचारहरू खुम्चिँदै गएको उहाँले बताउनुभयो । समाजको मुक्ति र देशको विकास विचार, संस्था वा प्रणालीबाट नभई कुनै ‘तारणहार’ व्यक्तिबाट सम्भव हुने भाष्य नेपालमा निर्माण गर्न खोजिएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘मुलुक असामान्य अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । एकै साथ हाम्रो राष्ट्रियताको आन्दोलन, हामीले बडो दुख गरेर प्राप्त गरेका लोकतान्त्रिक अधिकार, मानवअधिकार र खुला स्पेस र त्यसको केन्द्रमा वामपन्थी आन्दोलन माथि एकदमै ठूलो संकट उत्पन्न भइरहेको छ ।

पपुलिजम, अनार्किजम र चरम दक्षिणपन्थको जगमा एउटा निर्वाचित अधिनायकवाद तिर सरकार गईरहेको छ, हेर्दा निर्वाचित हो, पपुलर भोटबाट आएको हो तर उसको यो सत्ताको समग्र व्यवहार एउटा अधिनायकवाद तिर छ, ट्रेड युनियन अधिकार खोसिएको छ, विद्यार्थीको २१ सालमा पञ्चायतसँग प्राप्त गरेका अधिकारहरू खोसिएको छ, अरु विभिन्न ढंगले तर्साईएको छ, सुकुम्बासीहरूको बिजोग हामीले देखिनै रहेका छौँ ।

यो स्थितिभित्र मुलुक एउटा असाधारण संकट तिर बढ्दै गएको हुनाले हामीलाई चाहिँ नयाँ ढंगले देशभक्त शक्तिहरू, प्रगतिशील शक्तिहरू र लोकतान्त्रिक शक्तिहरू नजिकिनुपर्ने आवश्यकता बोध भएको छ ।’ उहाँले देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच नयाँ ढंगले सहकार्य र निकटता आवश्यक रहेको बताउनु भयो ।