Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल


78
Shares

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले ल्याएको बजेटले संविधानको मर्म, नेपाली अर्थतन्त्रको यथार्थ र किसान–मजदुरको आवश्यकता सम्बोधन गर्न नसकेको बताउनुभएको छ । 

बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल उहाँले बजेटको आर्थिक दृष्टिकोण नै स्पष्ट नभएको टिप्पणी गर्नुभएको हो । उहाँले बजेटले किसान, मजदुर, बेरोजगार युवा र गरिब नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको दाबी गर्नुभयो ।

उहाँले भीर–पहिरो र आधारभूत सेवाबाट वञ्चित हजारौं बस्तीलाई सुरक्षित र व्यवस्थित स्थानमा पुनस्र्थापना गर्न बजेटले कुनै कार्यक्रम नल्याएको बताउनु भयो । बाँदर आतंकका कारण किसान बाली जोगाउन नसक्ने अवस्थामा पुगेपनि बजेटले त्यस विषयलाई बेवास्ता गरेको उहाँको भनाई छ । उत्पादनमा आधारित कृषि अनुदान, बाली तथा पशुधन बीमा, किसान पेन्सन र बाँदर नियन्त्रण कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा पहिलो पटक उपचार सेवामा प्रत्यक्ष कर लगाइएको भन्दै उहाँले असन्तुष्टी जनाउनु भयो । सरकारी तथ्यांकअनुसार करिव ५९ लाख नागरिक निरपेक्ष गरिबीमा रहेको उल्लेख गर्दै उहाँले गरिबको जीवनस्तर उकास्ने ठोस कार्यक्रम बजेटमा नदेखिएको बताउनुभयो ।

उहाँले बजेटको कर प्रणाली पनि प्रगतिशील नभई प्रतिगामी रहेको दाबी गर्नुभयो । अप्रत्यक्ष कर र भ्याटको भारले गरिब किसान तथा मजदुर झन् दबाबमा पर्ने उहाँको भनाई छ । विद्युत उपभोगमा भ्याट लगाएर सरकारले स्वदेशी ऊर्जाभन्दा ग्यासलाई सस्तो बनाएको उहाँले आरोप लगाउनुभयो ।

अब नागरिकले विद्युत् प्रयोग गरून् कि ग्यास ? उहाँको प्रश्न छ ।
उहाँले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित क्षेत्रका मागहरू पनि बजेटमा नसमेटिएकोे गुनासो गर्नुभयो । यस्तै उहाँले वैदेशिक ऋणको विषयमा विगतमा सरकारको आलोचना गर्नेहरूले अहिले झन् बढी ऋण प्रश्ताव गरेको उल्लेख गर्नुभयो ।