Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


यातायातमा डिजिटल फड्को : लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउन ‘क्यूआर कोड’


4.2k
Shares

अच्युत प्रसाद नेपाल, काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट भए–नभएको जानकारी लिन अब सेवाग्राहीले यातायात कार्यालय धाइरहनुपर्ने बाध्यता हटेको छ । बागमती प्रदेश यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुरले क्यूआर कोडमार्फत लाइसेन्सको अवस्था हेर्न सकिने व्यवस्था सुरु गरेको छ।

कार्यालय परिसरभित्र रहेको सोधपुछ कक्षको झ्यालमा क्यूआर कोड राखिएको छ । सेवाग्राहीले आफ्नो मोबाइलबाट उक्त क्यूआर कोड स्क्यान गरी लाइसेन्स नम्बर प्रविष्ट गरेपछि लाइसेन्सको पछिल्लो अवस्था सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।

यदि लाइसेन्स प्रिन्ट भइसकेको देखिएमा ‘रिक्वेस्ट आईडी’ र सक्कल रसिदसहित कार्यालयको कोठा नम्बर २०८ मा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ।

सेवाग्राहीको सुविधाका लागि कार्यालयले निःशुल्क इन्टरनेट सेवासमेत उपलब्ध गराएको जनाएको छ। यद्यपि इन्टरनेट जडानमा समस्या आउने तथा प्रणालीबाट विवरण प्राप्त गर्न समय लाग्ने गुनासो केही सेवाग्राहीले गरेका छन्।

ट्रायल परीक्षा उत्तीर्ण गरेपछि प्राप्त हुने नयाँ लाइसेन्स तथा नवीकरणका लागि आवेदन दिइएका सबै लाइसेन्सको अवस्था यही प्रणालीमार्फत हेर्न सकिने कार्यालयले जनाएको छ।

सेवाग्राहीहरूले प्रविधिको प्रयोग गरी घरमै बसेर लाइसेन्सको अवस्था जानकारी लिएर कार्यालय पुग्दा समयको बचत हुनुका साथै लामो लाइनमा बस्नुपर्ने झन्झटसमेत कम हुने बताएका छन्।