काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा बुधबार नेपालले बंगलादेशको सामना गर्ने भएकाे छ।
भारतको गोवामा नेपाल र बंगलादेशबीचको यो कडा प्रतिस्पर्धा बुधबार अपराह्न सवा ४ बजेदेखि शुरु हुने भएकाे हाे । दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा उत्रिने भएका हुन् खेलको प्रत्यक्ष प्रसारण ‘डीजीओ’ एपमार्फत हेर्न सकिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई २–० गोलले पराजित गरेको थियो । नेपालको जितमा रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा र कप्तान रेनुका नगरकोटीले खेलको ६० औं मिनेटमा गोल गरेका थिए ।
यसअघि समूहको पहिलो खेलमा भुटानलाई १–० गोलले पराजित गरेको नेपाल दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहन सफल भएको हो । समूह ‘ए’ मा नेपालसँगै भुटान र श्रीलंका रहेका थिए । त्यस्तै समूह ‘बी’ मा आयोजक भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् । प्रतियोगिताको नियमअनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुगेका हुन् ।
साफ महिला च्याम्पियनसिपको इतिहासमा पटक-पटक फाइनल पुगेर पनि नेपालले हालसम्म उपाधि चुम्न सकेको छैन । यसपटक ऐतिहासिक उपाधि जित्ने स्पष्ट लक्ष्यका साथ नेपाली टोली केही दिन अघि मात्रै गोवा प्रस्थान गरेको थियाे।










प्रतिक्रिया दिनुहोस्