काठमाडौं, असोज ११ । खाद्य स्वच्छता कायम गर्न एवं यससम्बन्धी जनचेतना अभिवृद्धि गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर अभियान सुरु गरेको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले बिहीबार ललितपुरमा अभियानको सुरुआत गरेका हुन् ।
कार्यक्रममा कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले खाद्य स्वच्छता र गुणस्तरीयता कायम गर्नका लागि सबै क्षेत्रलाई आग्रह गरे ।
उपभोक्ताहरुमा चेतनाको विस्तार गर्दै अनुगमन पक्षलाई पनि बलियो बनाइ खाद्यमा स्वच्छता कायम गर्नका लागि सरकारी क्षेत्रबाट ठोस पहल गरिने उनको भनाइ थियो ।
विशेषगरी प्रशोधित पानी, तेल र दूधमा स्वच्छता कायम गर्नका लागि अभियान सुरु गरिएको पनि उनले उल्लेख गरे ।
उपभोक्ता सचेतना वृद्धिका लागि प्रदेशस्तरीयरुपमा कार्यक्रमको विकास गर्ने, सरोकारवाला निकायको क्षमता विस्तारको काम गर्ने र खाद्य सुरक्षालाई मजबुत् गर्दै लैजाने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जीवकुमार कर्णले बताए ।
नेपालमा खाद्य सुरक्षाको स्तर कमजोर भएकाले यसमा सुधार ल्याउन सबै क्षेत्रको सामूहिक प्रयास हुनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्