Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


पहिलो टी-२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपाली महिला टाेली विजयी

घरेलु टाेली मलेसिया भने २ विकेटले पराजित

26
Shares

काठमाडौं । पहिलो टी-२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले घरेलु टाेली मलेसियालाई पराजित गरेकाे छ।

मलेसियाको बायुमास मैदानमा बुधबार एशियाली महिला छनोटको तयारी स्वरुप भएको पहिलो अभ्यास खेलमा नेपाल मलेसियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको हो । ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभर ५ बलमा ६७ रन बनाउँदा अलआउट भएको थियो।

जवाफी ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरिन् । उनले ३९ बलको सामना गर्दै ३२ रन बनाउँदै नेपालको जित सुनिस्चित गरेकी छन् । रुबी पोदारले २२ बलको सामना गरेर १५ रन जोडिन् । ६८ रनको लक्ष्य नेपालले १७ ओभर तीन बलमा आठ विकेटको क्षतिमा ७१ रन बनाउँदै पूरा गरेको हो ।

मलेसियाका लागि नोरु क्यूलिसाले तीन विकेट हात पार्दा एलिसा हन्टर र आइसा एलिसाले समान चार ओभर बलिङ गर्दै दुई/दुई विकेट लिएका थिए । यस अघि शुरुमा बलिङ गरेको नेपालका लागि पूजा महतोले चार ओभर बलिङ गर्दा मात्र १३ रन खर्चेर ३ विकेट लिइन् ।

मनिषा उपाध्यायले चार ओभरमा १७ रन दिएर २ विकेट हात पारिन । रिया शर्माले २ दशमलव ५ ओभरमा १३ रन दिएर २ विकेट लिँदा सीता राना मगर र कविता कुँवरले समान एकएक विकेट हात पारेका थिए ।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाउनु बाहेक अन्य ब्याटर नेपाली बलिङसामु निरिह देखिए ।