१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


तत्कालीन घरेलु विकास बैंकका अध्यक्ष प्रसाइँसहित पाँचजना दोषी ठहर, कैद र जरिवाना फैसला


0
Shares

काठमाडौं, असोज ११ । विशेष अदालतले तत्कालीन घरेलु तथा साना उद्योग विकास बैंकका अध्यक्ष सीताराम प्रसाइँसहित पाँचजनालाई भ्रष्टाचारी ठहर गरेको छ ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय चण्डीराज ढकाल तथा प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले बिहीबार प्रसाइँलगायतले कर्जा अपचलन गरी भ्रष्टाचार गरेको ठहर गरेको हो ।

अदालतले प्रसाइँलाई ३५ लाख जरिवाना र एक वर्ष कैद हुने ठहरसमेत गरेको छ ।

यस्तै, हिम गुरुङलाई ३५ लाख जरिवाना र ६ महिना कैद, सुनिल प्रधानलाई एक वर्ष कैद, पदमप्रसाद खतिवडालाई ६ महिना कैद र १० हजार जरिवाना तथा कर्जा लिने केशवलाल खोसीबाट ७० लाख विगो तथा ७० लाख जरिवानासहित एक करोड ४० हजार असुल गर्ने फैसला पनि अदालतले गरेको छ ।

उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्जा अपचलनको आरोपमा वि.सं. २०७० साल मंसिर २८ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सो बैंकका तत्कालीन महाप्रबन्धक भागवत श्रेष्ठ र वरिष्ठ प्रबन्धक सुनिल गुरुङलाई भने विशेष अदालतले निर्दोष भन्दै सफाइ दिएको छ ।

उक्त बैंक मनकामना विकास बैंक हुँदै अहिले यति विकास बैंककारुपमा कारोबार गरिरहेको छ ।