Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति जिनपिङबीच आज उच्चस्तरीय शिखर वार्ता हुँदै

व्यापार युद्ध, पश्चिम एशिया युद्ध र ताइवानको सुरक्षा मुख्य एजेण्डा

0
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार चीन भ्रमणमा पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ता वार्ताको तयारी शुरु भएको छ ।

राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने दुईदिने शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई), पश्चचिम एशियामा जारी युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेन्डाका रूपमा अघि सारिएका हुन् । बेइजिङ विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको छ ।

यसलाई चीनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको हाे । राष्ट्रपति ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्पसहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ । भ्रमण टोलीमा एलन मस्क, जेनसेन हाङ र टीम कुक लगायतका शीर्ष व्यवसायी सहभागी रहेका छन् ।

अमेरिका–चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको हाे । दुई देशबीचको व्यापार सन् २०२२ मा ६ सय ९० अर्ब डलर पुगेकोमा गएको वर्ष घटेर करिब ४ सय १५ अर्ब डलरमा सीमित भएको छ । ट्रम्प प्रशासनले चीनसँगको व्यापार घाटा घटाउने लक्ष्य राखेको हाे । राष्ट्रपति ट्रम्पले चीनलाई अमेरिकी प्रविधि र लगानीका लागि अझ खुला बनाउन आग्रह गर्ने बताउनुभएको छ । चीनले अमेरिकी चिप्स र उच्च प्रविधिमा पहुँच विस्तार गर्न चाहेको छ ।

शिखर वार्तामा इरान–इजरायल युद्ध पनि महत्वपूर्ण विषय बनेको छ । चीन इरानी तेलको प्रमुख खरिदकर्ता भएकाले युद्धका कारण तेल आपूर्ति प्रभावित हुँदा चिनियाँ अर्थतन्त्रमा दबाब परेको छ । अमेरिकाले चीनलाई इरानमाथि आफ्नो आर्थिक तथा राजनीतिक प्रभाव प्रयोग गर्न आग्रह गरिरहेको छ । चीनले पनि युद्ध अन्त्यको पक्षमा रहेको संकेत दिएको हाे ।

वार्ताको अर्को संवेदनशील विषय ताइवानको सुरक्षा हो । अमेरिकी संसद्ले गएको वर्ष ताइवानलाई १४ अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गरेपछि बेइजिङ असन्तुष्ट छ । राष्ट्रपति ट्रम्प शुक्रबार चीन भ्रमण सम्पन्न गरेर फर्किने कार्यक्रम रहेको जनाइएकाे छ ।

विश्लेषकहरूले राष्ट्रपति ट्रम्पको चीन भ्रमणलाई अमेरिका–चीन सम्बन्धको आगामी दिशा तय गर्ने महत्वपूर्ण क्षणका रूपमा हेरेका हुन् ।