एजेन्सी । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी रिहा हुनुभएको छ ।
उहाँ राजधानी बैंककको जेलबाट साेमबार रिहा हुनुभएको हो । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसक्नुभएको थियाे । न्याय मन्त्रालयको एक समितिले उहाँको राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँको लागि ‘प्यारोल’ स्वीकृत गरेको छ ।
दशकौँदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार बिहानै जेलबाट रिहा हुनुभएको हो । उहाँको स्वागतका लागि बैङ्ककको केन्द्रीय कारागार ‘क्लोङ प्रेम’ बाहिर केही सङ्ख्यामा समर्थक र आफन्त भेला भएका थिए । रिहाइपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका सिनावात्राले सञ्चारमाध्यमसँग भने कुनै प्रतिक्रिया नदिएको समाचार संस्था एएफपीले जनाएको हाे ।
दूरसञ्चार व्यवसायमा आबद्ध अर्बपति व्यापारी थाक्सिनले सन् १९९८ मा आफ्नै राजनीतिक पार्टी गठन गर्नुभएको थियो । सन् २००१ मा उहाँ थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो । सन् २००६ मा सेनाले ‘कू’ गरेर उहाँको सरकार अपदस्थ गरेको हाे ।
पूर्वप्रधानमन्त्री सिनावात्रालाई शक्तिको दुरुपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्याएको र सरकारी चिट्ठा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको थियो ।










प्रतिक्रिया दिनुहोस्