बिराज रोस्यारा (इमेज)
कैलाली, असोज ११ । पाकेको धानमा पानीले क्षति पुर्याएपछि कैलालीका किसान चिन्तित बनेका छन् ।
धान बेचेर दसैं खर्च चलाउँला भन्ने आशामा बसेका किसान यतिबेला निराश भएका छन् ।
धान रोपाइँका बेला पानी नपरेर हैरान भएका कैलालीका किसान काटेर भित्र्याउने बेला वर्षाले धानखेतीमा क्षति पुर्याएपछि चिन्तित भएका हुन् ।
धान बेचेर दसैं मनाउने आशमा बसेका किसान खेतमै धान उम्रिएपछि निराश भएका हुन् ।
धनगढीका सालीकराम रानाले नयाँ चामलको भात खाएर दसैं मनाउनुका साथै केही धान बेचेर खर्च चलाउने आशमा धान काटे पनि पानीले क्षति पुर्याएपछि कसरी दसैं मान्ने भन्ने चिन्ता लागेको बताए ।
कैलालीका अधिकांश किसानले अन्न बेचेर नै घरखर्च चलाउने गरेका छन् । खेतीबाट आएको आम्दानी नै उनीहरुको जीवनयापनको स्रोत हो ।
मौसमले साथ नदिँदा वर्षभरिको घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता उनीहरुमा सुरु भइसकेको छ ।
धान पाक्ने बेला आएको वर्षाले उत्पादनमा १५ प्रतिशतभन्दा बढी ह्रास आउने धनगढी उपमहानगरपालिका कृषि शाखाका खडकबहादुर विकले बताए ।
उनले बाला लागेको धान ढलेको र पाकेको धान ढलेर बोटमै उम्रेका कारण यो वर्ष धान उत्पादनका कमी आउने बताए ।
प्रतिक्रिया दिनुहोस्