Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


यस वर्षको मनसुनमा औसत भन्दा कम वर्षा हुने विभागकाे प्रक्षेपण


13
Shares

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेकाे छ।

विभागले आगामी मनसुन अर्थात चार महिनाको ऋतुगत मौसम आँकलन गर्दै देशभर औसत भन्दा कम वर्षा हुने र अधिकतम तापक्रम औसत भन्दा बढी हुने जनाएको हाे । विभागका मौसमविद् सुदर्शन हुमागाईंले दक्षिण एशियाली जलवायु पूर्वानुमान मञ्च (सास्कोफ) ले सन् २०२६ को मनसुन अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको र सोही अनुसार विभागले औसत भन्दा कम वर्षा हुने पूर्वानुमान गरेको बताउनुभयो ।

अगामी मनसुनमाअनुसार कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भू-भागबाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने उहाँकाे भनाइ छ । उहाँले नेपालको उत्तर–पश्चिमी क्षेत्रमा भने सरदर वर्षा हुने अनुमान गरिएको बताउनुभयो । मौसमविद् हुमागाईंले कर्णाली प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशका अधिकांश भू-भाग, मधेश प्रदेशका पूर्वी भू-भाग, कोशी प्रदेशका दक्षिणी भू-भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेकाे बताउनुभयाे।

विभागले सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भाग, मधेश प्रदेशका पश्चिमी भू-भाग र कोशी प्रदेशका मध्य भू-भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म जनाउकाे छ। उहाँले कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोसी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेकाे बताउनुभयाे ।

न्यूनतम तापक्रम देशभर तापक्रम समेत सरदर भन्दा बढी रहने प्रक्षेपण गरेको विभागले जनाएकाे हाे । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र वागमती प्रदेशका उत्तरी भू-भाग, मधेश प्रदेशका पूर्वीभू-भाग र कोशी प्रदेशका दक्षिणी भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।

दक्षिण एशियाली जलवायु पूर्वानुमान मञ्च (सास्कोफ) लाई उद्धृत गर्दै मौसमविद् हुमागाईंले पछिल्ला वर्षहरूमा दक्षिण एशियामा चरम जलवायु घटनाहरू तीब्र बन्दै गएको उल्लेख गर्नुभयाे । असामान्य वर्षा, लामो सुख्खा अवधि, भीषण गर्मी र बाढी–पहिरोको जोखिम बढेको उहाँले बताउनुभएकाे छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भएपनि पश्चिमि न्यूनचापिय प्रणाली तथा स्थानीय वायुको प्रभाव कारण केही दिनअघि वा पछि हुने गरेको विभागले जनाएकाे हाे ।