Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरीलाई ‘स्मार्ट, इन्टेलिजेन्स ड्रिभन’ को रूपमा विकास गर्ने: महानिरीक्षक पौडेल

खुला सीमानाका कारण हुने अवैध गतिविधि नियन्त्रणका लागि ‘बोर्डर इन्टेलिजेन्स’ को विकास गर्ने याेजना

364
Shares

काठमाडाैं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न सशस्त्र प्रहरी बललाई ‘स्मार्ट, इन्टेलिजेन्स ड्रिभन र मिसन रेडी फोर्स’ को रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

गृह मन्त्रालयमा साेमबार आयोजित दज्र्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको हाे । उहाँले संगठित अपराध, अन्तरदेशीय अपराध, मानव बेचबिखन र साइबर अपराध नियन्त्रणका लागि सूचना विश्लेषण र प्रविधिमा आधारित निगरानी प्रणालीलाई सुदृढ बनाइने बताउनुभयाे । सीमा सुरक्षालाई संगठनको मेरुदण्ड मान्दै उहाँले खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि ‘बोर्डर इन्टेलिजेन्स’ को विकास गर्ने योजना अघि सार्नुभएकाे छ ।

महानिरीक्षक पौडेलले अग्रजहरूले शुरु गरेका सकारात्मक र सुधारमुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै समय सापेक्ष परिमार्जन गर्ने अठोट समेत व्यक्त गर्नुभयो । महानिरीक्षक पौडेलले नेपाल सरकारको १ सय दिने रणनीतिक सुधार योजना अनुरूप कार्ययोजना तयार गरी संगठनलाई जनउत्तरदायी र आधुनिक सुरक्षा संस्थाको रूपमा स्थापित गर्न आफू दृढ संकल्पित रहेको बताउनुभएकाे छ ।