Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एआई न्यायको विकल्प हुनसक्दैन: कायममुकायम प्रधानन्यायाधीश मल्ल

प्रविधिको प्रयोग गर्दा मानवीय संवेदना र विवेक बिर्सन नहुनेमा जोड

0
Shares

काठमाडाैं । सर्वाेच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादन र न्यायमा पहुँच सुनिश्चित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रभावकारी साधन हुनसक्ने भएपनि न्यायको विकल्प हुन नसक्ने बताउनुभएको छ ।

काठमाडाैंमा शुक्रबार युवा कानून व्यवसायीहरूले आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रविधिको प्रयोग गर्दा न्यायको मानवीय संवेदना र विवेकलाई बिर्सन नहुनेमा जोड दिनुभएकाे हाे। उहाँले एआईले प्रणालीलाई थकित हुन नदिने र कार्यक्षमता बढाउने भएपनि यसलाई मानवीय नियन्त्रण र विवेकको परिधिभित्रै राख्नुपर्ने धारणा राख्नुभयो ।

एआईले कानूनी अनुसन्धान, नजिरहरूको खोजी र फैसला लेखनका क्रममा एउटा खाका तयार गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने उहाँले बताउनुभएकाे छ। ब्राजिलको न्यायपालिकामा प्रयोग भइरहेको ‘भिक्टर’ नामक एआई प्रणालीको उदाहरण दिँदै कायममुकायम प्रधानन्यायाधीश मल्लले नेपालमा पनि मुद्दा दर्तामा हुने दोहोरोपना हटाउन र न्यायिक प्रशासनलाई चुस्त बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न सकिने बताउनुभयो ।

छिटोछरितो न्याय र पहुँचका लागि प्रविधि एउटा कोशेढुङ्गा सावित हुन सक्ने र यसले न्यायको कथालाई नयाँ ढङ्गले परिभाषित गर्ने कायमुकायम प्रधानन्यायाधिश मल्लको विश्वास छ ।