काठमाडाैं । इराक बाहेक पश्चिम एशियाका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला गरिएको छ ।
वैदेशिक रोजगार विभागले साेमबार एक सूचना जारी गर्दै साउदी अरब, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति खुला गर्ने निर्णय भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा साेमबार बसेको मन्त्रिस्तरीय बैठकले गत फागुन १७ गतेदेखि अस्थायी रूपमा श्रम स्वीकृति स्थगन गरिएका देशमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो ।
इराक बाहेक अन्य देशको हकमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत् अवस्थामा हुने गरी खुला गरिएको विभागले जनाएकाे छ । इराकको हकमा गत मंसिर ११ गते भएको निर्णय अनुसार हुने भएकाे हाे । अमेरिका–इजरायल र इरान युद्धका कारण वैदेशिक रोजगारीमा मध्यपूर्वका देश जाने युवाका लागि श्रम स्वीकृति रोकिएको थियो ।
साेही निर्णय अनुसार मंगलबारदेखि श्रम स्वीकृति जारी हुने भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्