Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


देशैभरी आजदेखि दाेस्राे आर्थिक गणना कार्य सञ्चालन

५ हजार जनशक्ति परिचालन

221
Shares

काठमाडाैं । देशैभरी दोस्रो आर्थिक गणना कार्य संचालन भएकाे छ।

त्यसका लागि देशैभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको हाे। कार्यतालिका अनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो हप्ताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् । अर्थ मन्त्रालयले देशको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्यांक संकलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ ।

गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिनेछ । साेही क्रममा देशैभरी दर्ता भएनभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय र अस्पताल लगायतको गणना गरिने भएकाे हाे।

आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको शुरुवातमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । साेही कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुने मन्त्रालयले जनाएकाे हाे । यसअघि २०७५ सालमा पहिलो राष्ट्रिय आर्थिक गणना गरिएको थियो ।

गणनामा देशैभरी ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।