काठमाडाैं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएकाे छ ।
पार्टी मुख्यालय सानेपामा बुधबार दिउँसो २ बजे बस्ने कार्यसम्पादन समितिको बैठक अघि केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्ने भएकाे हाे । समसामयिक राजनीति, संसदीय दलको नेता चयन र पार्टीले शुरु गरेको जरा अभियान लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएकाे छ। बैठकले समानान्तर गतिविधिमा सक्रिय रहेको भन्दै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाही गर्ने तयारी समेत गरेको कांग्रेसले जनाएकाे हाे । खड्काले गत चैत्र ३० गते कार्यवाहक सभापतिकै हैसियतमा दोस्रो पटक वक्तव्य जारी गरेपछि कांग्रेसले कारबाहीको तयारी गरेको छ।
अनुशासन समितिले यसअघि नै खड्कालाई कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरहेड दुरुपयोग नगर्न सचेत गराएको थियो । चैत १८ गतेको बैठकले खड्काको नाम उल्लेख नगरीकन अब उप्रान्त लेटरहेड दुरुपयोग भए नेपाली कांग्रेसको विधान र प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । नयाँ सरकार बनेलगत्तै पूर्वगृहमन्त्री रमेश लेखक पक्राउकोविरुद्धमा खड्काले कांग्रेसको लेटरहेड प्रयोग गर्दै वक्तव्य जारी गर्नुभएको थियो ।
पार्टीको आधिकारीकता सर्वोच्च अदालतमा विचाराधिन रहेकाे समयमा जरा अभियानका नाममा विशेष महाधिवेसनबाट आएको नेतृत्वले क्रियाशील सदस्यता खारेज गर्न लागेको आरोप लगाउँदै खड्काले कार्यवाहक सभापतिको हैसियतमै गत सोमबार वक्तव्य जारी गर्नुभएको थियो । यसैबीच कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया पनि बुधबारदेखि शुरु हुने भएकाे छ ।
संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन हुने पनि कांग्रेसले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्