Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


हंगेरीमा भएको संसदीय चुनावमा विपक्षी नेता मग्यारको दललकाे भारी बहुमत

प्रधानमन्त्री ओर्बानको पार्टी नराम्ररी पराजित, रूसी राष्ट्रपति पुटिनका विश्वासपात्रको १६ वर्षे शासन ढल्यो

1.3k
Shares

एजेन्सी । हंगेरीको विपक्षी पार्टी टिसजाले संसदीय निर्वाचन जितेको छ ।

जसको नेतृत्व पिटर मग्यारले गरिरहनुभएको हाे । विपक्षी पार्टी टिसजाले आइतबार भएको संसदीय निर्वाचनमा बहुमत हासिल गरेकाे छ। टिसजाले प्रधानमन्त्री भिक्टर ओर्बानको सत्ताधारी गठबन्धनलाई पराजित गरेको छ । राष्ट्रिय निर्वाचन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार यो जानकारी प्राप्त भएको हो । एनइओद्वारा गणना गरिएको ९८ दशमलव ८९ प्रतिशत मतअनुसार टिसजाले ५३ दशमलव २१ प्रतिशत मत प्राप्त गरेको छ। १ सय ९९ संसदीय सिटमध्ये १ सय ३८ सिट जित्ने प्रक्षेपण गरिएको छ ।

जुन दुई–तिहाइ बहुमत भन्दा बढी हो । ओर्बानको सत्ताधारी फिडेज–केडीएनपी गठबन्धनले ३८ दशमलव २६ प्रतिशत मत प्राप्त गरेको हाे । ५५ सिट जित्ने प्रक्षेपण गरिएको छ । अति–दक्षिणपन्थी ‘आवर होमल्याण्ड मुभमेन्ट’ ले ५ दशमलव ८५ प्रतिशत मत जितेको छ र ६ सिट पाउने प्रक्षेपण गरिएको हाे । अन्य पार्टीहरू संसदमा प्रवेश गर्न आवश्यक ५ प्रतिशतको थ्रेसहोल्ड पार गर्न असफल भएका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार करिव ८१ लाख योग्य मतदातामध्ये ७७ दशमलव ८ प्रतिशतले मतदान गरेका छन्, जुन एक कीर्तिमानी उच्च संख्या हो ।

बुडापेस्टमा समर्थकहरूलाई सम्बोधन गर्दै ४५ वर्षीय मग्यारले आफ्नो पार्टीको निर्णायक विजयको प्रशंसा गर्दै यो विजय हरेक हंगेरीको झ्यालबाट देख्न सकिने बताउनुभयो । मध्य–दक्षिणपन्थी टिसजा पार्टीको यो विजयले ओर्बानको लगातार १६ वर्षको सत्ताको अन्त्यको संकेत गर्दछ । ओर्बानले सन् १९९८ देखि २००२ सम्म हंगेरीको प्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएकाे थियाे । सन् २०१० मा सत्तामा फर्केपछि उहाँ निरन्तर पदमा रहनुभएकाे छ ।

अभियानका क्रममा टिसजाले भ्रष्टाचार विरोधी र संस्थागत सुधारमा ध्यान केन्द्रित गरेको थियो । साथै कानूनको शासन र पारदर्शी शासनको पुन: स्थापनाको लागि आह्वान गरेको थियो।