Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


स्वास्थ्य सेवा निरन्तर रूपमा सञ्चालन गर्न सरकारको आग्रह

स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि तयार गरिंदै

117
Shares

काठमाडाैं । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित हुनसक्ने भन्दै सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिरामीलाई कुनै असहजता नहोस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि स्वास्थ्य सेवा सञ्चालन गर्न आग्रह गरेकाे हाे । जसअनुसार मन्त्रालयको अनुरोधपछि धेरै अस्पतालहरूले बिदाको दिनमा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गरिरहेका भन्दै मन्त्रालयले धन्यवाद पनि व्यक्त गरेको छ । जारी विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवा प्रदायक संस्थाबाट प्राप्त गुनासोप्रति मन्त्रालय जानकार रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि मन्त्रालय सकारात्मक र प्रतिबद्ध रहेको जनाएको हाे ।

नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राख्दै सेवा निरन्तरता दिनु सबैको प्रमुख दायित्व भएको पनि मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले सबै सरोकारबालासँग समन्वय गरी स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढाएको जनाएकाे हाे ।