काठमाडौं ।
नेपाल चिकित्सक संघले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि सोही अनुसारको सुविधा दिन माग गरेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख परामर्शदाता अर्थोपेडिक सर्जन प्राध्यापक डा. बद्री रिजालले चिकित्सकहरूको मानसिक तथा शारीरिक स्वास्थ्य र ‘बर्नआउट’ को समस्यालाई मध्यनजर गर्दै दुई दिने बिदा अनिवार्य रहेको बताउनुभयो ।
सरकारले इन्धनको खपत घटाउन शनिवार र आईतवार बिदा दिने निर्णय गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई पत्र लेख्दै आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
सरकारको निर्णय सबै कर्मचारीका लागि समान हुनुपर्ने भन्दै उहाँले अस्पतालै पिच्छे बिदा र समयको फरक–फरक नियम हुँदा अन्योल बढेकाले तत्काल सरोकारवालासँग वार्ता गर्न सरकारसँग आग्रह गर्नुभयो । राष्ट्रिय ट्रमा सेन्टर प्रमुख परामर्शदाता डा. बद्री रिजाल ले राज्यले चिकित्सा क्षेत्रलाई अप्ठ्यारो पर्दा ‘अत्यावश्यक सेवा’ भन्ने गरे पनि सो सेवामा खटिने कर्मचारीको सुविधा र कार्यघण्टाका विषयमा भने सधैँ मौन रहने गरेको गुनासो गर्नुभयो ।
उहाँले इमर्जेन्सी सेवा २४ सै घण्टा सुचारु रहने भएकाले ओपिडी सेवाको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म गरेर आइतवार बिदा दिन सकिने सुझाव दिनुभयो । सरकारले सातै दिन अस्पताल चलाउन चाहने हो भने हालको दरबन्दीलाई दोब्बर बनाउनुपर्ने उहाँको तर्क छ ।
डा. रिजालले सुरक्षित वातावरण, उचित सेवा, सुविधा र वैज्ञानिक कार्यविधिको लागि सरकारले तत्काल सरोकारवालाहरुसँग वार्ता गर्नुपर्ने उहाँको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्