Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना: मन्त्री चौधरी

हाल ६ सय ५८ वटा प्रजातिका वनस्पतिहरुको अभिलेखिकरण

91
Shares

काठमाडाैं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताउनुभएको छ ।

वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औं वनस्पति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सिमित राखिएको बताउनुभयो । उहाँले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिनुभएकाे छ। उहाँले यस प्रकारको पहलले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाईककमा पुर्‍याउन सहयोग पुग्ने बताउनुभयाे । उहाँले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने बताउनुभएकाे छ ।

विभागले नेपालमा रहेका वानस्पतिक सम्पदाको वैज्ञानिक पद्धतिद्वारा अभिलेखिकरण गरी ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको छ । हाल ६ सय ५८ वटा प्रजातिका वनस्पतिहरुको अभिलेखिकरण भइसकेको विभागले जनाएको हे । कार्यक्रममा वानस्पातिक स्रोतको संरक्षण तथा विकासमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।