एजेन्सी । अमेरिका र इरानबीचको ऐतिहासिक शान्ति वार्ता बिना निष्कर्ष टुङ्गिएको छ।
पाकिस्तानको इस्लामावादमा लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना शर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो । वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ प्रस्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको जानकारी दिनुभयो । उहाँले अमेरिकाले इरानसमक्ष आफ्नो ’अन्तिम र उत्कृष्ट’ प्रस्ताव राखेको र अब त्यसलाई स्वीकार गर्ने वा नगर्ने जिम्मा इरानकै हातमा रहेको पनि उल्लेख गर्नुभएकाे छ । उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा रोक्नु नै ट्रम्प प्रशासनको मुख्य लक्ष्य रहेको दोहोर्याउँदै इरानको आणविक क्षमता ध्वस्त पारिएको दावी गर्नुभयो ।
भविष्यमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने प्रतिबद्धता नजनाएसम्म सम्झौता हुन नसक्ने उपराष्ट्रपति भान्सको स्पष्टोक्ति छ । वार्ता विफल भए पनि पाकिस्तानको मध्यस्थकर्ता भूमिकाको भने अमेरिकाले उच्च प्रशंसा गरेको छ। उपराष्ट्रपति भान्सले पाकिस्तानी प्रधानमन्त्री र फिल्ड मार्शल मुनिरलाई धन्यवाद दिँदै वार्तामा कुनै कमी भए त्यो पाकिस्तानको कारणले नभएको स्पष्ट पार्नुभयाे । अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानबाट फर्किन लागेको पनि उहाँजानकारी दिनुभएकाे छ।
साथै यता, इरानको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै अमेरिकाले अत्यधिक र गैरकानूनी मागहरू राखेको आरोप लगाएको छ। इरानले आफू खुला दिमागका साथ वार्तामा आएको भए पनि अमेरिकाले इरानको वैध अधिकार र स्वार्थलाई सम्मान गर्नुपर्ने अडान राखेको हाे । वार्ता सकिएपछि इरानको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै उनीहरु पनि खुला दिमागका साथ वार्तामा आएको संकेत गरेको छ ।
तर अमेरिकाले “इरानको वैध अधिकार र हित“ लाई स्वीकार गर्दै “अत्यधिक माग र गैरकानूनी अनुरोधहरूबाट“ टाढा रहनुपर्ने इरानकाे तर्क थियाे ।









प्रतिक्रिया दिनुहोस्