Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


इन्धन संकटको मारः काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त


247
Shares

काठमाडाैं । पेट्रोलिय पदार्थ अभावले निर्माणाधिन काँकडभिट्टा–लौकही सडक निर्माण सुस्ताएको छ ।

मध्यपूर्वमा देखिएको तनावले पर्याप्त सडक कालोपत्र गर्न आवश्यक बिटुमिन अभाव भएको निर्माण कम्पनी इभ्रास्कन कालिका जे.भी.का प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंले जानकारी दिनुभयो ।

काँकडभिट्टा लौकही सडकखण्ड अन्तर्गत पूर्वी खण्डमा इभ्रास्कन कालिका जे.भी.ले स्तोन्नतिको काम गरिरहेको छ । सडक कालोपत्र गर्ने मुख्य सिजनमा कम्पनीले स्टकमा राखेको बिटुमिनले १०–१५ दिन पुग्ने कम्पनीका प्रोजेक्ट म्यानेजर प्रसाईं बताउनु हुन्छ ।

वर्षाअघि पहिलो लेयरको कालोपत्र गर्न २२ किलोमिटर सडकमा बेस बिछ्यायर तयार पारिएको कम्पनीका प्रतिनिधि प्रसाईं बताउनुहुन्छ । बेस बिछ्याइएको क्षेत्रमा कालोपत्रे गर्न आवश्यक बिटुमिन महङ्गो मूल्यमा खरिद गरिएको भएपनि पर्याप्त नरहेको प्रसार्इंले जानकारी दिनुभयो । नेपाल आयाल निगमले डिजलमा लगाएको कोटा प्रणालीले आयोजनामा पर्याप्त डिजेल उपलब्ध नगराउँदा काम रोकिने अवस्थामा पुगेको प्रसाईं बताउनु हुन्छ ।

निर्माण कम्पनीसँग स्टकमा रहेको बिटुमिनले मात्रै कालोपत्रे गर्ने अवस्था रहेको काँकडभिट्टा लौकही सडक योजना पूर्वीखण्डका योजना प्रमुख सिडिई सुनिलबाबु पन्त बताउनुहुन्छ । मध्यपूर्वमा देखिएको तनावले पेट्रोलियम पदार्थको मूल्य बढेर काम गर्न नसक्ने अवस्थाको जानकारी निर्माण पक्षले आयोजनालाई गराएको सिडिई पन्तले बताउनु भयो ।

निर्माण व्यवसायीले बिटुमीन आयात गर्न खोलेको एलसी समेत फिर्ता भएको जानकारी आयोजनालाई गराएको सिडिई पन्तले बताउनु भयो । यो सडक आयोजनामा पेट्रोलिय पदार्थको संकटसँगै मौसमले पनि साथ नदिएको आयोजना प्रमुख पन्तले जानकारी दिनुभयो ।

मध्यपूर्वको तनाव नरोकिए यो सडक योजनाको काम हप्ता दश दिनमै रोकिने अवस्था रहेको आयोजना प्रमुख पन्त बताउनु हुन्छ । पूर्वीखण्ड अन्तर्गत काकडभिट्टा सीतापुरीसम्म ४५ किलोमिटर लम्बाई रहेको यो सडक १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा स्तरोन्नति भइरहेको छ ।