Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


संविधान संशोधनमा गम्भीर समीक्षा आवश्यक: चन्द्र भण्डारी


338
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संविधान संशोधनका विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।

संविधानसम्बन्धी छलफलका क्रममा उनले वर्तमान संविधान केवल शासन व्यवस्था सञ्चालनका लागि मात्र नभई द्वन्द्व व्यवस्थापनका लागि पनि महत्वपूर्ण दस्तावेज रहेको उल्लेख गरे । नेपालले प्रभावकारी द्वन्द्व व्यवस्थापनको अभ्यास गरेको भन्दै उनले त्यसलाई विश्वमै उदाहरणीय रहेको बताए ।

तर, समानुपातिक समावेशी प्रणाली कार्यान्वयनमा कमजोरी देखिएको उनले औंल्याए । ‘संविधानको मर्मअनुसार कार्यान्वयन हुन नसक्दा यसको प्रभावकारिता कमजोर भएको छ,’ भण्डारीले भने ।

राज्य संरचना निर्माण गर्दा देशको आर्थिक क्षमताको उचित मूल्याङ्कन हुन नसकेको उल्लेख गर्दै उनले केही संरचना बेरोजगारी व्यवस्थापन गर्ने थलो जस्तै बनेको टिप्पणी गरे ।

त्यस्तै, प्रधानमन्त्री बन्ने कार्यकालको सीमा नहुँदा राज्य व्यवस्था नै सीमित समूहमा केन्द्रित हुने खतरा बढेको उनले बताए । भण्डारीले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा सुधार आवश्यक रहेको औंल्याउँदै ती निकायहरू जनसेवामुखी बन्नुपर्नेमा जोड दिए ।

उनले स्थानीय तहलाई सशक्त, सक्षम र विकासकेन्द्रित बनाउँदै सुशासन र पारदर्शिता सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे ।