Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


दोस्रो राष्ट्रिय आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै


208
Shares

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि बिहीबारदेखि देशैभरी पाँच दिने तालिम कार्यक्रम शुरु भएकाे छ।

आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त गणनाको तयारीअन्तर्गत गणकहरुलाई तालिम दिन लागिएको हो । कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघसँगको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछानेले देशैभरी रहेका ८४ कार्यालयबाट एकैसाथ तालिम सञ्चालन गरिने बताउनुभएकाे थियाे ।

उहाँले आर्थिक गणनाका लागि आवश्यक गणकको छनोट प्रक्रिया पूरा भइसकेको र सम्बन्धित स्थानीय तहमा आवश्यक पत्राचार गरिसकिएको बताउनुभएकाे छ । तालिम कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुनेछ र तालिम सम्पन्न भएपछि गणकहरू देशभर आफ्नो जिम्मेवारी अनुसार खटिने कार्यालयले जनाएकाे हाे । यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना २०७५ वैशाख र जेठमा सञ्चालन भएको थियो ।