Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


बालेन नेतृत्वको सरकारका सबै मन्त्रीलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ काे बारेमा जानकारी


507
Shares

काठमाडाैं । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुति दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुति दिनुभएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले बताउनुभएकाे हाे । सचिव राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्द्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुति दिनुभएको थियो । उहाँले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराउनुभयो ।

नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूलाई उहाँले विशेष जोड दिनुभएको छ । साथै विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुति गरिएको थियो ।