Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


संविधान संशोधन कार्यदलकाे पहिलो बैठक आज सिंहदरबारमा बस्दै


754
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार को संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक बुधबार बस्ने भएकाे छ।

मन्त्रिपरिषद बैठककाे यहि चैत १६ गतेको निर्णय अनुसार गठित उक्त कार्यदलको बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो। संविधान संशोधनका सन्दर्भमा बहसपत्र तयार गर्न सरकारले विभिन्न राजनीतिक दलका प्रतिनिधि र कर्मचारीतन्त्रका विज्ञहरू समेटेर यो कार्यदल बनाएको छ । कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट मोहन आचार्य, नेकपा एमालेकातर्फबाट संविधानसभा सदस्य डा. भीष्मनाथ अधिकारी र नेकपातर्फबाट पूर्वकानूनमन्त्री देवप्रसाद गुरुङ सदस्य रहेका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फबाट तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट पनि कार्यदलमा सदस्य छन्। नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले भने आफ्ना प्रतिनिधि पठाउन बाँकी छ। ती दलमा आन्तरिक छलफल भइरहेकाले सम्भवतः बुधबारै सदस्यको नाम टुङ्गो लाग्ने जनाइएकाे छ ।

कार्यदलमा सरकारी अधिकारीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य रहेका छन्। कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदीलाई तोकिएको हाे। यस कार्यदलले संविधानमा परिमार्जन आवश्यक देखिएका विषयमा राजनीतिक र कानूनी पक्षबाट अध्ययन गरी बहसपत्र तयार गर्ने कार्यादेश पाएको छ।