काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पनि बस्ने भएकाे छ।
पार्टीका नेता जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बिहान ११ बजे पुनः बस्ने बताउनुभएकाे हाे । मंगलबार बसेको बैठकमा करिब पाँच जना वक्ताहरूले मात्रै आफ्ना विचार व्यक्त गरेको पार्टीका नेता खतिवडाले जानकारी दिनुभयो । बैठकमा पनि बाँकी सदस्यहरूले धारणा राख्ने र सुझाव संकलनको कार्यलाई निरन्तरता दिने समेत उहाँले बताउनुभयाे । निर्वाचनमा व्यहोर्नुपरेको पराजयको कारण र पार्टीको आगामी कार्यदिशाकाे बारेमा घनिभूत रुपमा छलफल भएको छ ।
बैठकको तेस्रो दिन नेताहरूले समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा र पार्टीको साङ्गठनिक सुदृढीकरणका विषयमा आफ्ना धारणाहरू राखेका हुन् । नेता खतिवडाले बैठकमा मुख्य गरी पार्टीले यस पटकको निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसक्नुका कारणहरू, नेपालको भू–राजनीतिक संवेदनशीलता र यसको जटिलताका विषयमा छलफल केन्द्रित भएको बताउनुभएकाे छ ।
नेता खतिवडाले पार्टी संगठनको व्यवस्थापन र एकता प्रक्रियालाई अगाडि बढाउन सदस्यहरूबाट सुझाव संकलन गर्ने कार्य भइरहेको समेत जानकारी गराउनुभयाे ।








प्रतिक्रिया दिनुहोस्