Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


रफ्तारमा बालेन सरकार (भिडियाे रिपोर्ट)


299
Shares

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सुरुदेखि नै जनतामा आशा जगाउने काम गरिरहेको छ । यसअघिका सरकारका सबै कार्यशैलीलाई किनारा लगाउँदै यो सरकारले कामको गति अघि बढाएको छ ।

जेनजी आन्दोलनकै जगबाट आएको सरकार भएकाले सुरुमै जेनजी आन्दोलनको छानबिन अघि बढ्यो । जसले जनतामा सुरुमै आशाको सञ्चार ग¥यो । पछिल्लो समय सरकारले शिक्षा क्षेत्रदेखि दैनिक उपभोग्य सामग्रीहरुमा समेत जनतालाई राहत दिनेगरी कदम अघि बढाएको छ । एक रिपोर्ट ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार सुरुमै सक्रिय देखिएको छ । सरकार बनेको एक महिनाको समय पनि नबित्दै सरकारले जनतामा आशा जगाउने काम गरेको छ । जनताले भागिरहेका प्रशासनिकदेखि राजनीतिक र कानुनी समस्या समाधानका लागि सरकारले महत्वपूर्ण निर्णयहरु एक पछि अर्को गरिरहेको छ ।

शिक्षा, स्वास्थ्य लगायतका संवेदनशील क्षेत्रमा सरकारले जनतालाई सहुलियत दिनेगरी काम अघि बढाइरहेको छ । यति मात्र नभई, सरकारले शक्ति र पहुँचको जालो तोड्न खोजिरहेको छ । यसअघिका सरकारले राजनीतिक पहुँच र शक्तिकेन्द्र रिझाउनेहरुलाई उन्मुक्ति दिँदै आएका थिए । यो सरकारले भने शक्ति र पहुँचलाई बढावा नभएर अन्त्य गर्न खोजेको देखिन्छ । अहिलेसम्म कुनैपनि सरकारले हिम्मत नगरेका व्यक्तिहरु यस पटक कारबाहीको दायरामा आएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि व्यवसायी दीपक भट्टहरु यतिबेला कानुनी कठ्घरामा छन् । त्यतिमात्र होइन, सरकारले शिक्षा क्षेत्रमा समेत सुधारको संकेत देखाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिना भित्रमा सार्वजनिक गर्नेगरी सरकार अघि बढेको छ ।

त्यसका लागि परीक्षा जारी रहँदै उत्तरपुस्तिका धमाधम परीक्षण भइरहेको छ । अर्कोतर्फ, अमेरिका–इरान तनावको प्रभावका कारण पेट्रोलियम पदार्थमा देखिएको संकट समाधानका लागि सरकारले काम अघि बढाएको छ । जस अन्तर्गत सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार कर र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।