Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


इरानलाई एकै रातमा समाप्त पार्ने राष्ट्रपति ट्रम्पकाे चेतावनी

इरानकाे तेल र हर्मुज जलडमरूमध्यमाथि ट्रम्पकाे गिद्धे नजर

0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकै रातमा ‘समाप्त पार्न’ सकिने र त्यो रात मंगलबार हुनसक्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले इरानलाई सम्झौता गर्न र हर्मुज जलडमरूमध्य पुनः खोल्नका लागि तोकेको समयसीमा मंगलबार राति समाप्त हुने भएकाे हाे । सोही क्रममा उहाँले मध्यस्थकर्ताहरूमार्फत इरानी पक्षसँग भइरहेको वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ दावी समेत गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले साेमबार पत्रकार सम्मेलनमा बोल्दै सम्पूर्ण देशलाई एकै रातमा सिध्याउन सकिन्छ र त्यो रात मंगलबार हुनसक्ने बताउनुभएकाे हाे ।

राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध कम गर्ने वा बढाउने भन्नेकुरा इरानको कदममा भर पर्ने बताउनुभयो । राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनसँग मंगलबार मध्यरातसम्म इरानका पुल र पावर प्लान्टहरू ध्वस्त पार्ने योजना रहेको खुलासा गर्नुभएकाे छ । उहाँले मंगलबार पूर्वी समय अनुसार राति ८ बजेको समयसीमा अन्तिम भएको बताउनुभयो । यद्यपि उहाँले विगतमा यस्ता समयसीमाहरू बारम्बार परिवर्तन गर्दै आउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि इरानको नागरिक पूर्वाधारमा हुने अमेरिकी हवाई आक्रमणले युद्ध अपराधको रूप लिनसक्ने विषयमा आफू ‘चिन्तित नरहेको’ बताउनुभएको थियो । उहाँले होर्मुज जलडमरूमध्यबाट गुज्रिने जहाजहरूमा अमेरिकाले शुल्क लिनुपर्ने र तेलको स्वतन्त्र आवागमन सुनिश्चित हुनुपर्ने कुरामा जोड दिनुभएकाे छ । उहाँले इरानको तेल नियन्त्रणमा लिन सकिने संकेत गर्दै अमेरिकी जनता भने आफ्ना सेना घर फर्केको हेर्न चाहने उल्लेख गर्नुभयो ।

अर्कोतर्फ, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले युद्धविरामले विपक्षीहरूलाई पुनर्गठित हुन र थप अपराध गर्न समय मात्र दिने बताउनुभएको छ । इरानी समाचार एजेन्सी आईआरएनएले तेहरानले अमेरिकाको १५ बुँदे प्रश्तावलाई अस्वीकार गर्दै युद्धको स्थायी अन्त्यका लागि आफ्ना शर्तहरूसहित पाकिस्तानमार्फत जवाफ पठाएको जनाएकाे हाे । राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानसँगको युद्ध जितिसकेको दावी गरे पनि अधिकांश अमेरिकी विशेषज्ञहरू भने यसमा असहमत देखिन्छन् ।