Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


पशुपंक्षी र वातावरण स्वस्थ नभई हामी पूर्ण स्वस्थ हुन सक्दैनौं : स्वास्थ्यमन्त्री मेहता


0
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एक-अर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ को अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडाैंमा मंगलबार विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मेहताले यस्ताे जोड दिनुभएको हाे । प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताउनुभयाे । जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबीचको आपसी सहकार्य अहिलेको आवश्यकता रहेको उहाँकाे भनाइ छ । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै मन्त्री मेहताले पछिल्लो समय मानव र पशुपंक्षीबीचको अन्तरसम्बन्धका कारण नयाँ चुनौतीहरू थपिएको बताउनुभयो । पशुपंक्षीबाट सर्ने रेबिजजस्ता प्राणघातक रोग, जलवायु परिवर्तनका कारण बढ्दो किटजन्य रोग र वातावरणीय प्रदुषणले निम्त्याएको क्यान्सर, मुटुरोग तथा मस्तिष्कघात जस्ता नसर्ने रोगहरूको जोखिम बढ्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएकाे छ ।

मन्त्री मेहताले नागरिकहरूलाई सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनचेतना फैलाउने कार्यमा सञ्चारकर्मी, सङ्घसंस्था र सरोकारवाला निकायहरूलाई हातेमालो गर्न समेत आह्वान गर्नुभयो । यस वर्षको विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपंक्षी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ मनाइएको छ ।