काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनका लागि स्थगित मतदाता नामावली संकलन आइतबारदेखि शुरु गरिएकाे छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मंसिर ६ गतेदेखि नामावली संकलन स्थगन गरेको थियो । यहि चैत १८ गते बसेको आयोगको बैठकले आइतबारदेखि मतदाता नामावली संकलन शुरु गर्ने निर्णय गरेको हो । स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ । आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरण दर्ता गर्न प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।
मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्