Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपालमा अमेरिकी रणनीतिअनुसारको ‘कठपुतली सरकार’ बन्योः मोहनविक्रम सिंह


2k
Shares

काठमाडाैं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकार नेपालको राजनीतिक आवश्यकता नभई अमेरिकी रणनीतिको उपज भएको दाबी गर्नुभएको छ ।

अहिलेको निर्वाचनमार्फत नेपालमा अमेरिकी निर्देशनमा चल्ने ‘कठपुतली सरकार’ स्थापना गरिएको आरोप लगाउनुभएको हो । सिंहकाअनुसार कुनैपनि देशको परराष्ट्र नीति त्यहाँको सरकारको स्वरूपले निर्धारण गर्छ ।

नेपालमा अहिले बनेको सरकारले छिमेकी देशहरूसँगको सम्बन्धमा आघात पु¥याउने र अमेरिकी स्वार्थलाई मात्र प्राथमिकता दिने उहाँको विश्लेषण छ । महामन्त्री सिंहले अमेरिकी रणनीतिको मुख्य उद्देश्य नेपालको भूमि प्रयोग गरेर चीनको तिब्बतमाथि आक्रमण गर्नु रहेको आशंका व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकारका कतिपय मन्त्रीहरू खुला रूपमा ‘फ्री तिब्बत’ आन्दोलनका समर्थक रहेको उल्लेख गर्दै यसले नेपाललाई युद्धभूमि बनाउने खतरा बढेको बताउनु भयो । सिंहले पपुलिजम ९लोकप्रियतावाद० लाई अन्तर्राष्ट्रिय समस्याका रूपमा चित्रण गर्दै यसले फासीवादलाई जन्म दिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अमेरिकालाई नेपालमा यस्तो राजनीतिक शक्ति चाहिएको थियो, जसको आफ्नै कुनै राजनीतिक दिमाग छैन र अर्कैको निर्देशनमा नाङ्गो रूपमा चल्छ । हामीले युक्रेन, गाजा र इरानको स्थिति देखेका छौँ, नेपाललाई पनि त्यस्तै युद्धभूमि बनाउने योजनावद्ध प्रयास भइरहेको छ । जब जनतामा राजनीतिक विचारभन्दा भावना हावी हुन्छ, तब देशले गम्भीर क्षति व्यहोर्नुपर्छ । अहिले नेपालका युवा र विद्यार्थीहरू अमेरिकी प्रचार यन्त्रको शिकार भएका छन् ।’

सरकारले स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन र प्रेसमाथि नियन्त्रण गर्न थालेको भन्दै उहाँले लोकतान्त्रिक अधिकारहरू खोसिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अमेरिकी साम्राज्यवाद र यो गम्भीर संकटका विरुद्ध सारा देशभक्त नेपाली, वामपन्थी र प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनभयो ।