Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सुर्खेतमा आजदेखि सार्वजनिक सवारी ठप्प


9.8k
Shares

काठमाडौं ।
यातायात व्यवसायीहरूको आन्दोलनका कारण आजदेखि सुर्खेत जिल्लाभर सार्वजनिक सवारी सेवा पूर्ण रूपमा बन्द भएको छ ।

जिल्ला भर सञ्चालनमा रहेका १३ वटा यातायात प्रालिहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गर्दै यातायात सेवा ठप्प पारेका हुन् । व्यवसायीहरूले प्रहरीले सार्वजनिक सवारीका चालक तथा मजदुरमाथि मात्र धरपकड गरेको र निजी प्रयोजनका लागि दर्ता भएका रातो प्लेटका सवारीसाधनमाथि कडाइ नगरेको आरोप लगाएका छन् ।

उनीहरूले यस्तो पक्षपातपूर्ण व्यवहार तत्काल बन्द गर्न माग गरेका छन् । व्यवसायीहरूको भनाइ अनुसार रातो प्लेटका सवारीहरूलाई खुला छाडेर सार्वजनिक सवारीमाथि मात्र दबाब सिर्जना गर्नु अन्यायपूर्ण भएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो ।

यातायात सेवा बन्द भएसँगै सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सम्पूर्ण सवारी साधन प्रभावित भएका छन् । यसका कारण दैनिक आवतजावत गर्ने यात्रुहरू तथा अत्यावश्यक काममा हिँडेका सर्वसाधारणलाई ठूलो सास्ती भएको छ । सम्बन्धित पक्षबीच वार्ता हुन नसकेसम्म आन्दोलन जारी रहने व्यवसायीहरूले जनाएका छन् ।