Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


काँग्रेसको हार ‘भोट सिफ्ट’ नभई ‘स्वइङ’ मात्रै हो, अब सिफ्ट हुन नदिऔँः डा. शेखर कोईराला


494
Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गत निर्वाचनमा काँग्रेसको पराजयलाई ‘स्वइङ भोट’ को संज्ञा दिनुभएको छ ।

शनिवार काठमाडौंमा विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मतदाताले पार्टी नछोडेको तर मत मात्र फेरेको दाबी गर्दै अब मत सिफ्ट हुन दिनु नहुने बताउनुभयो ।

उहाँले संसदमा काँग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक ’हावाहुरी’ लाई बुझ्न नसक्नु मुख्य कारण रहेको स्वीकार गर्नुभयो । अबको लडाइँ वामपन्थीसँग भन्दा पनि ‘लिबरल डेमोक्रेट्स’ हरूसँग हुने भएकाले संगठन बलियो बनाउनुपर्नेमा उनले जोड दिनुभयो ।

कोईरालाले आफूले शुरुदेखि नै केन्द्रिय समितिको निर्णयबाट विशेष अधिवेशनमा जानुपर्ने अडान राखेको स्मरण गराउनु भयो । विशेष अधिवेशनबाट गगन थापा सभापति भएको सन्दर्भ जोड्दै उहाँले यस विषयमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको मुद्दाको किनारा लाग्न बाँकी रहेको बताउनु भयो । अदालतको प्रक्रिया जे–जस्तो भएपनि पार्टीलाई एकतावद्ध बनाउन आफू अन्त्यसम्म लागिरहने उनले प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘ अहिले हाम्रो राजनीति संसदमा उपस्थिति एकदमै कमजोर अवस्थामा हामी छौँ। त्यो हामीले स्वीकार्नु पर्छ । धेरैले भन्छन् कसरी हा¥यो के ग¥यो के भो भनेर । हावाहुरी हुण्डरीहरु आयो हामीले बुझ्नै सकेनौँ भने पनि हुन्छ । यसलाई हामीले जनताको चाहना, नेपाली काँग्रेसका साथीहरुको चाहनालाई पनि हामीले बुझ्न सकेनौँ। अहिले सुन्दै जाँदा खेरी तपाईहरुले पनि बुझ्नुभयो होला, तपाईहरुले पनि सुन्नु यो होला, हामीले पार्टी छोड्या छैन मत मात्रै फेरेको भनेर भन्या छ। त्यही भन्या छन् नि मानिसहरु, धेरै अधिकांश ठाउँमा साथीहरुलाई सोध्दाखेरी यही कुराहरु गरिराख्या छ । अहिले मलाई के लाग्छ भने यसपालिको निर्वाचनले जो हामी पराजित भयौँ, स्वइङ भोट भएको छ। भोट सिफ्ट भएको छैन। फरक छ स्वइङ भोट र सिफ्ट भोटमा। यसपालिको भोट स्वइङ मात्रै भएको छ । अब सिफ्ट हुन चाहीँ हामीले नदिऔँ। त्यसमा हामीले ख्याल गर्नुपर्ने आवश्यकता छ । पहिले पहिले हाम्रो लडाई वामपन्थीहरुसित हुन्थ्यो सजिलो थियो।

अबको लडाई लिबरल डेमोक्रेट्सहरुसित हाम्रो लडाई छ । त्यो लडाईमा हाम्रो हामी पछि पर्नुहुँदैन भन्ने मलाई लाग्छ । हाम्रो संगठन छ र हामी गर्न सक्छौँ भन्ने विश्वास मैले लिएको छु । अघि केदारजीले उठाइसक्नु भो कुरा त्यसकारण मैले पनि बोल्नैपर्ने हुन्छ । विशेष अधिवेशनको कुरा गर्दा मैले नै हो विशेष अधिवेशनमा जानुपर्छ भनेर भनेको। तर मैले एउटा शब्द त्यहाँ अझ जोडेको छु । केन्द्रिय समितिले निर्णय गरेर विशेष अधिवेशन गरौँ भनेर भन्या थिएँ। केन्द्रिय समितिले विशेष अधिवेशन गरेन भने हामी अप्ठ्यारो परिस्थितिमा पुग्छौँ भनेर मैले पटक पटक सबै साथीहरुलाई वरिष्ठ साथीहरुलाई ती कुराहरु भनेकै हो । त्यो स्वीकार्य भएन । त्यो स्वीकार्य नभएपछि विशेष अधिवेशन भयो। गगनजी अहिले सभापति विशेष अधिवेशनबाट हुनुभएको छ ठिकै छ त्यसमा केही छैन। तर यसको मुद्दा शेरबहादुरजी र पूर्णजीले मुद्दा सर्वोच्च अदालतमा दिनुभएको छ। मुद्दाको छिनोफानो भोलिदेखि शुरु होला। अब कति दिन लाग्ने हो, लाग्छ लाग्दैन समय लाग्छ लाग्दैन तर नेपाली काँग्रेसलाई एक ढिक्का बनाउनलाई, नेपाली काँग्रेसलाई एक ठाउँमा ल्याउनको लागि म अन्त्य सम्म प्रयास गर्नेछु । त्यो तपाईहरु ढुक्क हुनुस्। म कुनै यो ग्रुपमा उ ग्रुपमा छैन। तपाईहरुले स्पष्ट हुनुप¥यो यो कुरा। मानिसहरुले साथीहरुले यही कोठामा यही हलमा भएका साथीहरुले पनि मेरो बारेमा धेरै कुराहरु लेख्नु भएको मैले देख्या छु। सामाजिक सञ्जाल हामी पनि हेर्छौँ । हामी हेर्दैनौँ भन्ने होइन। हामी पनि बुझ्छौँ। तर जसरी प्रश्तुत गरिएको छ मलाई चिन्ता छैन। मलाई जसले जति गाली गरे पनि हुन्छ। मलाई केही पनि असर गर्दैन त्यो गालीले। किन गर्दैन भने मेरो एउटै लक्ष्य छ नेपाली काँग्रेसलाई एक ढिक्का बनाईकन आगामी निर्वाचनमा फेरि हामीहरु पहिलो पार्टीको रुपमा प्रस्तुत हुने मेरो त्यति मात्रै इच्छा हो। अरु मेरो केही इच्छा छैन। त्यसकारण तपाईहरुलाई यो मौका पाएर मात्रै मैले बोलेको।

आज म बोल्ने यो विषयमा म छलफल गर्ने आएको पनि होइन। तर कुरा उठिसकेपछि आफ्ना कुराहरुलाई स्पष्ट रुपमा तपाईहरुको माझमा राखिदिनु पर्ने आवश्यकता मैले देखें । नेपाली तपाईहरु पनि धेरै विद्वत साथीहरु यहाँ हुनुहुन्छ प्राध्यापक हुनुहुन्छ वकिलहरु हुनुहुन्छ अन्य साथीहरु हुनुहुन्छ। दुवै समुदाय दुवै ग्रुप सित तपाईहरुले छलफल गर्नुस् र नेपाली काँग्रेसलाई एक ढिक्का बनाउने एक उसमा लग्ने तपाईहरुले कोशिस गर्नुस् प्रयास गर्नुस् यही नै विपी कोईरालालाई सच्चा श्रद्धाञ्जली हुन्छ ।’
डा. कोईरालाले आफू कुनैपनि गुट वा समूहमा नरहेको स्पष्ट पार्नुभयो । सामाजिक सञ्जाल र पार्टीभित्रैबाट हुने आलोचनाको आफूलाई कुनै चिन्ता नभएको पनि बताउनुभयो ।