Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास भयो : अर्जुन नरसिंह केसी


3.2k
Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा–ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाउनुभएको छ । 

आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भनि हुने गरेका टिप्पणीले आफूलाई फरक नपर्ने बताउनुभएको हो । वि.स. २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन शुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उहाँको दाबी छ ।

उहाँले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाहरुले सभापति थापाको ससुराको रुपमा मात्र चिन्ने गरेको भन्दै तिनीहरुलाई जवाफ दिइरहनुनपर्ने बताउनु भयो । उहाँले पशुपति दर्शन छिद्राको व्यापार भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टिकाटिप्पणीहरु बनीबनाउ षड्यन्त्र भएको बताउनु भयो । उहाँले नेपाली काँग्रेसभित्रै बाट आफ्नो पहिचान गगन थापाको ससुराको रुपमा मात्र सिमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति समेत जनाउनु भयो । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईराला, नेतृ शैलजा आचार्य र पूर्वप्रधानमन्त्री सुशील कोईरालासहितको प्रसंग निकाल्दै केसीले पार्टीमा कयौँ नेताहरुले आफ्नै योगदानका आधारमा भुमिका पाएको भन्दै पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर आलोचना गर्नु उचित नहुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘२०१८ साल वैशाख ५–६ गते २०१७ सालको राजाको कदमको विरुद्ध पर्चा बाँड्दै गर्दा जेल परेर जुन यात्रा अर्जुन नरसिंहको बारेमा केही थाहा नभएर  मलाई केही थाहा नभएको खाली गगनको ससुरा मात्रै चिनेका पत्रकारहरूलाई अथवा सामाजिक सञ्जालको मान्छेलाई मैले के जवाफ दिइरहने ? उहाँहरूलाई धन्यवाद कम्तिमा एउटा जबर्जस्त देशले विश्वास गरेको ज्वाइँको नाम मसँग जोड्नुभयो, म त्यसमा धन्यवाद दिन चाहन्छु ।  होइन भने यो बनीबनाउ षड्यन्त्र हो । पशुपति दर्शन छिद्राको व्यापार भन्छन् नि कहिलेकहीँ । एउटा मट्याङ्ग्राबाट गगनजीलाई पनि तेजोवध गर्ने मलाई पनि तेजोवध गर्नको निम्ति गरिएको प्रयत्न हो । यस्ता प्रयत्न विभिन्न कोणबाट भएका छन् । जानीजानी गरिएका छन् । काँग्रेसभित्रबाट पनि भयानक भएको छ, अरु पार्टीको नाम लिन्नँ । त्यसले मलाई के असर पर्या छ ? म अर्जुननरसिंह आफू जे छु त्यो छु मलाई समाजले चिन्या पनि छ । अब त्यसलाई गलत भन्नेहरुले भनेका पनि छन् । कसैले त्यसमा रमाइलो मानेका छन् भने त्यसमा उनीहरुलाई रमाइलो मान्न दिऊँ न । मेरो मेरो नाम लिएर कसैलाई रमाइलो लाग्छ भने मैले टाउको दुखाउनुपर्ने कारण के छ ? तर मेरो पहिचान गगनको ससुराको रूपबाट लिने, गगन ज्वाइँ हुँदाखेरि म गर्व गर्छु यो देशले अत्यन्त प्रभावकारी रूपले पत्याएको नेतृत्व मध्ये उहाँ हुनुहुन्छ । उहाँको सशक्त्ता र जीवन्तता अहिले अझ बढ्ता आवश्यकता छ त्यो एउटा पक्ष भयो । तर म अर्जुननरसिंह गगनको ससुरा भएर चिन्ने चिनाउने यो जुन खालको खेल खेल्नेमा रमाउनेहरू छन् नि उनीहरूलाई पुगोस्, उनीहरूलाई राम्रो होस् । गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदाहुँदै अथवा सभापति हुँदाहुँदै उपसभापति शैलजा आचार्य भएको होइन ? शैलजा आचार्यको आफ्नै इतिहास थियो, आफ्नै योगदान थियो । कसैले प्रश्न उठाउने कुरा पनि भएन । उहाँ त्यही बेलामा गिरिजाबाबु हुँदा मन्त्री उपप्रधानमन्त्री भएको होइन ? अनि गिरिजाप्रसाद कोईराला सभापति हुँदाहुँदै उपसभापति सुशील कोईरालालाई दिएको होइन ? नाता भनेर एउटा काँचो मान्छे कहिल्यै नचिन्या मान्छेलाई कसैले ल्याएको भए यो एउटा प्रश्न हुन्छ ।’
पार्टी निर्माण र व्यवस्था पुनःस्थापनाका लागि आफूले गरेको योगदानबारे सबैलाई जानकारी गराएर सञ्चारकर्मीहरुले आफूलाई न्याय गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले आफू रुपान्तरण र पुस्तान्तरणको वकालत गर्ने भएकै कारण विशेष अधिवेशनको पक्षमा उभिएको दाबी समेत गर्नुभयो । उहाँले काँग्रे बद्लिएको हेर्न नचाहानेहरुले आफूमार्फत सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै त्यसले केही फरक नपर्ने बताउनु भयो ।