काठमाडौं । काठमाडौंको स्वयम्भूमा रहेको निजी विद्यालय स्वस्तीश्री गुरुकुलले सरकारी अनुमति बिनानै विदेशी पाठ्यक्रम संचालन गराइरहेको खुलेको छ ।
सोही विद्यालयले नेपाल सरकार, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति नै नलिई आईबी डिपीको पाठ्यक्रम संचालन गरिरहेको हो । स्वस्तीश्रीले कक्षा ११ र १२ मा अनुमति नै नलिई आईबी डिपीको पाठ्यक्रम संचालन गरेर अभिभावक र बिद्यार्थीबाट लाखौ रुपैयाँ ठगी गरिरहेको छ । सोही पाठ्यक्रम स्विट्जरल्यान्डको इन्टरन्याशनल बाकलोरिएट अर्गनाइजेसनको पाठ्यक्रम हो । जुन निकै महँगो पाठ्यक्रम मानिन्छ । सरकारले सोही पाठ्यक्रमका लागि अनुमति बन्द गरेकै करिब ३ वर्ष पुगेको छ । अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई मिलेमतोमा सबै अभिभावकलाई झुट बाेलेर विद्यार्थीको भविष्यसँग खेलबाड गरी अनुमतिबिना नै पढाइरहँदा विद्यार्थीको भविष्य र लगानी डुब्ने होकि भन्ने चिन्ता कतिपय अभिभावकको रहेको छ ।
सरकारी अनुमतिबिना पाठ्यक्रम सञ्चालन गर्दा समकक्षता निर्धारण नहुने जोखिम त छँदै छ, विद्यार्थीले छात्रबृत्तिका लागि स्वदेश तथा बिदेशमा समेत मौका पाउन समस्या हुने देखिएको छ । विद्यार्थीले विदेशमा अध्ययनका लागि जान खोजेमा उनीहरुले सरकारी निकायबाट प्राप्त हुने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) समेत पाउने छैनन् । अनुमति नलिई विदेशी बोर्डको पाठ्यक्रम सञ्चालन गरेका विद्यालयबाट प्रमाणपत्र पाएका विद्यार्थीहरूलाई विदेशी प्रमाणपत्रका आधारमा नेपालमा समकक्षता नदिने शिक्षा मन्त्रालयको जनाएकाे हाे । शिक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार अनुमति नलिइ यसरी विद्यार्थी र अभिभावकलाई भ्रममा पारेर कक्षा संचालन गर्ने शिक्षण संस्थाहरूलाई कानून बमोजिम कारबाही गरिने बताएका छन् ।
शिक्षा क्षेत्रका जानकारहरुपनि यसरी अनुमति नलिइ वदेशी पाठ्यक्रम संचालन गरिनु सरासर ठगी भएको र यसले नेपालको शिक्षा क्षेत्रलाई बद्नाम गर्ने हुनाले तत्काल कारवाही हुनुपर्ने बताउँछन् । विद्यालयले आफूहरुले अनुमति लिने काम भइरहेको भन्दै विद्यार्थी तथा अभिभावकलाई झुक्याएर विद्यार्थी भर्ना गर्ने गरेको स्रोतले जनाएकाे हाे । जसले गर्दा विद्यार्थीको लगानी र मेहनत डुब्ने होकि भन्ने चिन्ता बढाएको छ । उक्त विद्यालयले पाठ्यक्रम संचालन अनुमतिका लागि सरकारी निकायमा निवेदन दिएकै भरमा अनुमति नै नपाई यसरी महंगो पाठ्यक्रम पहुचका भरमा संचालन गरिरहेको छ ।
जबकी सरकारले बिदेशी पाठ्यक्रम संचालनमा रोक लगाइसकेको छ । सरकारले नेपालमा केही निजी क्षेत्रका विद्यालयलाई मात्रै धेरै अगाडिदेखि यो पाठ्यक्रम संचालनका लागि अनुमति दिएको थियो । विद्यार्थीहरुले आईबी डिपीको कक्षामा (११-१२) मा गरी दुई वर्षमा प्रति बिद्यार्थी २० लाख भन्दा बढी बुझाउने गरेका छन् । विश्वमा आईबी डीपी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा भर्ना हुन सहज मानिन्छ ।
तर स्वस्तीश्री गुरुकुलको यो ठगी र गैरकानूनी कार्यले नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न र नेपाली विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने काममा असर पार्न सक्ने विज्ञहरुको विश्लेषण छ ।








प्रतिक्रिया दिनुहोस्