Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


गोरखा सेभिङ र गौतमश्री सहकारीका सञ्चालक पक्राउ

सहकारीबाट ४ अर्ब ५ करोड ६० लाख रूपैयाँ बढी हिनामिना भएको आशंका

5.9k
Shares

काठमाडाैं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा सेभिङ एण्ड क्रेडिटका अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, ब्यवस्थापक अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई रहेका हुन् । उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यो सहकारीमा १० हजार ५ सय ९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४ सय ५८ रुपैयाँ बचत रहेकोमा ऋण र लगानी गरेर १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९ सय २४ रुपैयाँ प्रवाह गरेको देखिएको छ ।

बाँकी रकमको विवरण भने केही पनि नभेटिएको प्रहरीको भनाइ थियाे । उक्त रकम हिनामिना भएको आरोप छ । प्रवाह भएको ऋण समेत कमसल धितो बिना धितो दिएको खुलेको हाे। पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर बुझाइएको छ । यस्तै काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्थाका व्यवस्थापक पनि पक्राउ परेका छन् । पाँचथरको फिदिम घर भएका ४१ वर्षीय व्यवस्थापक रवीन विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो । यो सहकारीले साढे ५ अर्ब रूपैयाँ भन्दा बढी ठगी गरेको आरोप छ ।