Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक (कार्य-सूचीसहित)


1.2k
Shares

काठमाडौं । संघीय संसद सचिवालयले यहि चैत २२ गते आइतबार हुने प्रतिनिधिसभाको सभामुख चयनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यतालिका अनुसार शुक्रबार बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको हो । शुक्रबार दिउँसो साढे २ बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन हुनेछ ।

दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपछि निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई प्रस्ताव गर्ने निर्णय गरिसकेको हो।

त्यसैगरी, राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन सोमाबार हुने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आइतबार दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म राष्ट्रियसभाका कुनै सदस्यलाई सभाको उपाध्यक्ष मतमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दिइने छ ।

आइतबार दिउँसो ४ बजे दर्ता भएका प्रस्तावकको सूचनाको दर्ता सूची प्रकाशन हुने भएको हो । सोमबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकले उपाध्यक्ष चयन गर्ने संसद सचिवालयले जनाएको छ ।