चितवन, असोज १० । सभामुख कृष्णबहादुर महराले देशमा विद्यमान विकृति, विसंगति अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउने बताएका छन् ।
भरतपुर क्यान्सर अस्पतालको १९औं वार्षिकोत्सव तथा १४औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बुधबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख महराले सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबाट उठेका प्रश्नमाथि बिहीबार बस्ने संसद बैठकमा गम्भीर ध्यानाकर्षण गराउने बताए ।
‘विकास निर्माण, देशव्यापीरुपमा भएका सामाजिक, सांस्कृतिक विकृति, विसंगतिका कुरा पनि छन् । यसप्रति संसद असाध्यै सतर्क छ । ती विषयलाई ध्यानाकर्षण गर्न मेरोतर्फबाट कुनै कसर बाँकी हुने छैन’–उनले भने ।
उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय उपचार केन्द्रकारुपमा विकास गर्नुपर्ने बताए ।
चीन सरकारको सहयोगमा बनेको यस अस्पतालमा उपचारसँगै अध्ययन–अनुसन्धान, पठनपाठनसमेत गराउनुपर्नेमा उनले जोड दिए ।
सरकार, निजी क्षेत्र र समुदाय मिलेर अस्पतालको विकास गर्नुपर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अस्पताललाई नमुना बनाउनुपर्ने बताए ।
उनले विदेशीसमेत उपचार गर्न आउने यस अस्पताललाई अध्ययन–अनुसन्धान केन्द्रकारुपमा विकास गर्नुपर्ने धारणा राखे ।
सो अवसरमा अस्पताललाई उल्लेखनीय योगदान पुर्याएको भन्दै अस्पतालका निर्वतमान अध्यक्ष डा. प्रकाशराज न्यौपाने, क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेसहित विभिन्न विभागका कर्मचारीलाई सम्मान गरिएको थियो ।
वि.सं. २०५७ असोज १० गतेबाट औपचारिकरुपमा सेवा दिन थालेको क्यान्सर अस्पतालमा हाल ४५० शय्या सन्चालनमा रहेको कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले जानकारी दिए ।
नेपालमा क्यान्सर अस्पताल स्थापना भएको आजको दिनलाई राष्ट्रिय क्यान्सर सतर्कता दिवसकारुपमा मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्