काठमाडाैं । प्रतिनिधिसभाका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
उहाँले संसद विभिन्न विचारधाराको संगमस्थल भएकाले मतभेद, विवाद र तिक्तता देखिनु स्वाभाविक भएपनि ती सबै प्रक्रियाबाट निष्कर्षमा पुग्नु नै लोकतन्त्रको सौन्दर्य भएको उल्लेख गर्नुभएकाे हाे। संचारकर्मीसँग कुरा गर्दै उहाँले सभामुखको निर्वाचनअघि संसद सञ्चालन गर्दा आफू तटस्थ, प्रभावकारी र निर्विघ्न बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सांसद केसीले बिहीबारको बैठक विवादरहित रुपमा सञ्चालन गर्ने विषयमा सबै राजनैतिक दलहरु प्रतिवद्ध रहेको विश्वास समेत व्यक्त गर्नुभयो । संसद राष्ट्रिय राजनीति र संस्कृतिको प्रतिविम्व भएको उल्लेख गर्दै केसीले त्यसको संरक्षक सभामुख हुने बताउनुभएकाे छ । लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय सार्वभौमिकताको संरक्षणका लागि संसद र सभामुखले निरन्तर सक्रिय भुमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद केसीले संविधानको रक्षा र नेपाली जनताको सर्वोच्चताको सुरक्षाको पक्षमा सरकारले गर्ने काममा संसदका सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताउनुभएकाे छ। मुलुक र जनताको हितमा गरिने काममा सहयोग गर्नु र कमिकमजोरी हुँदा सिर्जनात्मक आलोचना गर्नु नै लोकतन्त्रको मुल मर्म भएको उहाँको बुझाइ थियाे ।
सभाको ज्येष्ठ सदस्य भएको हैसियतले केसीले नै प्रतिनिधि सभाको बिहीबारको बैठक सञ्चालन गर्नुहुने भएकाे छ । उहाँले सभामुखको निर्वाचन नहुँदासम्म प्रभावकारी रुपमा सभामुखको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।








प्रतिक्रिया दिनुहोस्